अच्युतकृष्ण खरेल फुटबल खेल्न पाइन्छ भनेर प्रहरीमा भर्ती भए। फुटबलमा राष्ट्रिय टोलीका कप्तान बने। प्रहरी फोर्समा महानिरीक्षक। उनले फुटबल खेलेर प्रशंसक कमाए। प्रहरी फोर्समा रहेर दुस्मनी मोले। गुण्डा र तस्करहरूसँग भिडे। डाँका पक्रन सीमापार गए। तस्करको बचाउ गर्ने राजनैतिक नेताहरू सँग पटक पटक झुत्ती खेले। उनको जीवनको आरोह अवरोह फोर्सको आँखाबाट देशको राजनैतिक घटनाक्रम नियाल्ने आँखीझ्याल हो। उनले तत्कालिन दरबार र पन्चहरूको दबदबा देखे। माओबादी द्वन्द उत्कर्षमा पुगेको बेला प्रहरी संगठनको नेतृत्व सम्हालेका उनको दल, दरबार र सेना बीच सकसपूर्ण अन्तरसम्बन्धको साक्षी बन्दै दुनै हमलापछि राजिनामा दिए। यो जीवनीले एक प्रहरी अधिकृतको चौबिसघण्टे रापिलो यात्रा अनुभूति गराउँछ।